मेलबर्न । अस्ट्रेलियाले पर्यटक भिसासम्बन्धी नियममा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ। शनिबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया पुग्ने यात्रुले त्यहाँ पुगेपछि आफ्नो भिसाको अवधि थप्न पाउने छैनन्।
नयाँ व्यवस्था भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। यसअन्तर्गत पर्यटक, व्यावसायिक भ्रमण तथा ई–भिजिटर भिसा समेटिएका छन्।
अस्ट्रेलियाले हाल अधिकतम १२ महिनासम्मको पर्यटक भिसा जारी गर्दै आएको छ। तर, भिसा प्राप्त गर्ने व्यक्तिले अस्ट्रेलियामा कति समय बस्न पाउने भन्ने निर्णय अध्यागमन अधिकारीले गर्ने व्यवस्था छ।
अस्ट्रेलियाको पर्यटक भिसा शुल्क करिब २४ हजार नेपाली रुपैयाँबाट सुरु हुन्छ भने विद्यार्थी भिसाका लागि करिब दुई लाख ४० हजार रुपैयाँ शुल्क लाग्छ। नयाँ नियमअनुसार दक्षिण एसियाली मुलुकबाट अस्ट्रेलिया जाने पर्यटकले फर्किने टिकटसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
पहिले कस्तो थियो व्यवस्था ?
यसअघि पर्यटक भिसामा अस्ट्रेलिया पुगेका यात्रुले भिसामा कुनै प्रतिबन्ध नतोकिएको अवस्थामा निश्चित सर्त पूरा गरेर अर्को भिसाका लागि आवेदन दिन सक्थे। आवश्यक प्रक्रिया पूरा गरेपछि अस्ट्रेलियामै बसेर भिसाको प्रकार परिवर्तन गर्ने वा बसाइ अवधि लम्ब्याउने अवसरसमेत थियो।
त्यस्तै, फर्किने टिकट अनिवार्य थिएन। तर, स्वदेश फर्किन पर्याप्त आर्थिक स्रोत रहेको प्रमाण भने पेस गर्नुपर्थ्यो।
यसअघि पर्यटक भिसामा सामान्यतया तीन महिनासम्म बस्न अनुमति दिइन्थ्यो। विशेष अवस्थामा भने ६ महिना वा १२ महिनासम्म बस्ने अनुमति पनि प्राप्त हुन सक्थ्यो। पर्यटक भिसामा अधिकतम तीन महिनासम्म अध्ययन गर्न पाइने भए पनि रोजगारी गर्न अनुमति थिएन।
नयाँ नियम लागू भएपछि सामान्य अवस्थामा अस्ट्रेलिया पुगेपछि भिसा अवधि थप्न वा अर्को भिसामा परिवर्तन गर्न पाइने छैन। यद्यपि, विशेष आपत्कालीन परिस्थितिमा भने भिसा अवधि थप्ने सम्भावना रहनेछ। त्यसका लागि भने जटिल प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।






