बेलबारी । मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म नवौँ मेजर एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
डाँगीहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा भारतको एक टोलीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११), भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ, थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड) सहभागी हुनेछन् ।
प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा सञ्चालन हुनेछ । राष्ट्रियस्तरका ए डिभिजन क्लब र भारतीय टोलीको सहभागिताले यस वर्षको प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने क्लबका अध्यक्ष विक्रम बान्तवाले बताए ।
प्रतियोगिताको आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोलले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि जितेको थियो ।






