जनताको अधिकार र उपलब्धिमाथि सरकारको प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकका उपलब्धि र जनताले प्राप्त गरेका अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता तथा प्रतिनिधित्वका अधिकारमाथि सरकारले हस्तक्षेप गरिरहेको दाबी गरे ।

उनले मजदुर, सुकुमवासी, कर्मचारी, विद्यार्थी र शिक्षकदेखि सुरक्षा निकाय तथा न्यायपालिकासम्म अन्योल, त्रास र दबाबको अवस्था सिर्जना भएको बताए ।

प्रचण्डले तत्कालीन राजनीतिक परिस्थितिलाई मात्र ध्यान नदिई दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले देशभित्र संयुक्त मोर्चा निर्माण तथा देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

नेपालमा वामपन्थी जनमत ठूलो भए पनि त्यसलाई एकताबद्ध नगरेसम्म समाजवादको आधार तयार गर्न नसकिने उनको भनाइ थियो । विगतको कम्युनिस्ट एकतालाई जोगाउन नसकिए पनि साना–ठूला कम्युनिस्ट घटकलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको उनले बताए ।

सकारात्मक र रचनात्मक संवादमार्फत अन्य राजनीतिक शक्तिलाई समेत एकता र ध्रुवीकरणको प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेको प्रचण्डले उल्लेख गरे ।

विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामुनि केन्द्रित हुन सहकार्य र संवादलाई निरन्तरता दिइरहेको पनि उनले बताए ।