चितवन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शनिबार औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिको जानकारी लिँदै अन्तरमन्त्रालय समन्वय गरी निर्माण तथा सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुसार विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने योजना रहेको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो ।
शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना गरी उद्योग सञ्चालनमा ल्याउन सके हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण योगदान पुग्ने उद्योगीहरूको अपेक्षा छ ।
औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक उद्योगीहरूले विगत आठ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग सङ्घको सचिवालयमा आवेदन दिँदै आएका छन् । सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ ।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ ।
यसैबीच, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा निर्माणाधीन चितवन प्रदर्शनी केन्द्रको पनि निरीक्षण गरेका छन् । उनले प्रदर्शनी केन्द्रसहित परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रदर्शनी केन्द्र निर्माणका लागि विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
शक्तिखोर औद्योगिक क्षेत्र र चितवन प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तार हुनुका साथै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।






