घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ (चितवन) – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि यातायात आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

गत मङ्सिर ५ गतेदेखि दिउँसोको समयमा सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षाको काम हुँदै आएको थियो । पहिरो प्रभावित क्षेत्रमा पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम सम्पन्न भएपछि सडक नियमित सञ्चालनमा ल्याइएको हो ।

घोप्टेभिरमा सडक सञ्चालनमा आए पनि यातायात व्यवस्थापन र यात्रुको सुरक्षाका लागि प्रहरी टोली परिचालन भइरहेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सवारी आवागमन व्यवस्थित गर्न, यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्न प्रहरी सक्रिय रहेको जानकारी दिए ।

घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै मुग्लिन–पोखरा र मुग्लिन–काठमाडौँ सडकखण्डमा यातायात आवागमन सहज भएको छ ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ ।

सडक बन्द हुने समयमा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र ती क्षेत्रबाट चितवन आउने यात्रु प्रभावित हुने भएका छन् ।