कात्तिक १५, काठमाडौं ।
राजधानीमा आलुको मूल्य अचाक्ली बढेको छ । व्यवसायी आफूखुसी मूल्य राखेर बिक्रि गरिरहेका छन् ।
थोक बजारमा ६४ देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको छ भने खुद्रामा भने डेढ सय रुपैयाँसम्म प्रतिकिलोमा आलू बिक्रि भइरहेको छ । व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीको दाबी छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारले शुक्रबारका लागि तोकेको मूल्यअनुसार रातो आलुको अधिकतम थोक मूल्य एक सय, भारतीय आलुको ६६ र नेपाली सेतो आलुको प्रतिकिलो मूल्य ८५ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताको छ ।
नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको कालीमाटीका आलु ब्यापारी बलराम भट्टराईले बताए । ‘अहिले आलुको स्टोर सिजन हो । कोल्ड स्टोरबाट ल्याइने आलुको मूल्य महंगो भएको छ, कम उत्पादन भएका कारण भारतबाट पनि नेपालतर्फ आलु आउन नसक्दा मूल्य बढ्यो’ भट्टराईले भने ।
व्यवसायीकाअनुसार बर्षायाममा बजारमा आउने मुडे र पालुङको सिजन सकिएर अहिले आलुको कोल्डस्टोर सिजन चलिरहेको छ । अबको केही दिनमा काठमाडौंका लागि काभ्रेको नालाबाट नयाँ आलु आउँछ । त्यो आलु सकिने बित्तिकै काठमाडौंका लागि पनौती र साँखु र केही मात्रामा त्रिशुलीबाट नयाँ आलु भित्रिन थाल्ने व्यवसायी भट्टराई बताउँछन् ।
त्यो आलु पुस अन्तिम सातासम्म पुग्ने र त्यसपछि पाँचखालबाट काठमाडौंका लागि आलु आउँछ । नेपाली उत्पादनका अलवा भारतबाट पनि प्रशस्त मात्रामा आलु आयात गर्नुपर्ने अर्का व्यवसायी बृजभुषण मल्लिक बताउँछन् ।
‘आलुको मूल्य होलसेलमै एक सय २० रुपैयाँसम्म पुगेको थियो । अब नयाँ आलु आएर मूल्य घटाउन सघाउ पुग्छ,’ मल्लिकले भने । खुद्रा पसलले पुरानो आलु प्रतिकिलो ६५ देखि ७० र नयाँ आलु एक सय रुपैयाँ सम्ममा बिक्री गर्न सक्ने उनी बताउँछन् ।
‘उपभोक्तालाई डेढ सय रुपैयाँसम्म लिईएको गुनासो हामीले सुनेका छौँ । खुद्रामा त्यति महंगो हुन नपर्ने हो,’ मल्लिकले भने ।







