२४ जेठ (रासस – एएनआई) : ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनले डब्लुएचओलाई राजनीतिक प्रभावमा भूमिका खेल्न लागेको आरोप लगाएका छन्। राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् ।
लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो । डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो ।
तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् । उनले यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई समेत बर्खास्त गरेका थिए । मन्त्रीले लकडाउन लगाउन चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।
लकडाउन खुकुलो बनाएकै कारण ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।
सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरिसकेको छ । अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना भएको छ ।







