सांसद तुलाचनको प्रश्न– मैले स्वास्थ्य मन्त्रीलाई दिएको मह खोइ ?

२४ जेठ, काठमाडौं । नेकपा सांसद प्रेमप्रसाद तुलाचनले कोरोना भाइरस रोकथामका लागि सबै संक्रमितलाई हिमाली मह खुवाउन आग्रह गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक महिनाअघि स्वास्थ्य मन्त्रीलाई मह दिएपनि कुनै ध्यान नदिएकोमा गुनासो गरे ।

सांसद तुलाचनले भने, ‘मैले एक महिना अघि माननीय स्वास्थ्य मन्त्रीलाई कोरोनाको औषधीको रुपमा परीक्षण गर्न प्राकृतिक मह दिएको थिएँ । मैले मह दिएको एक महिना भइसक्यो । स्वास्थ्य मन्त्रीले त्यसलाई ध्यान नदिएका कारण अहिलेसम्म नतिजा आउन सकेको छैन । त्यसमा म अत्यन्तै दुखित छु ।’

उनले प्राकृतिक महले कोरोना रोक्न सफल भएमा अहिले कोरोना रोक्न ९ अर्व ८५ करोड खर्च भइसकेको अवस्थामा ५ लाख रुपैयाँको महले देशभरका संक्रमितलाई निको पार्ने दावी गरे । यसले बजेट दुरुपयोग रोक्नेभन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

सांसद तुलाचनले यसअघिका बैठकमा आफूले परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई हिमाली मह दिएको बारेमा संसदमा जानकारी गराएका थिए ।