लकडाउन असफल– राहुल गान्धी

२४ जेठ (रासस / एएनआई) :भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छ्न् ।

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएको तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप लगाएका छन् । उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताएका छन् ।

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउन सक्ने पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखे । उनले लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने समेत ट्वीटमार्फत सुझाएका छन् ।

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए । यहाँ गएको २४ घन्टा यता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतमा २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन् । यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन् । अरु निको भएर घर फर्किसकेका छन् ।