२५ जेठ, काठमाडौं । भ्याक्सिन अर्थात् खोप कुनै विशेष रोगको रोकथामको लागि प्रयोग गरिन्छ । भ्याक्सिन सामान्यतया रोग लाग्नुभन्दा पहिले नै दिने गरिन्छ । भ्याक्सिन प्रयोग गरेपछि भ्याक्सिन लगाएको व्यक्तिको शरीरमा सम्वन्धित रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति, जसलाई एन्टीवडी भनिन्छ, त्यसको उत्पादन हुन्छ ।
भ्याक्सिन बनाउनको लागि रोगसंग सम्वन्धित भाइरस अथवा ब्याक्टेरियाको पुरै भाग अथवा कुनै अंश प्रयोग गर्नुपर्ने हुन्छ । दादुरा वाट बच्न प्रयोग गरिने भ्याक्सिनमा दादुरा रोग लगाउने भाइरस प्रयोग गरिएको हुन्छ भने रेबिजवाट बच्न लगाउने भ्याक्सिनमा रेबिज भाइरसकै प्रयोग गरिएको हुन्छ ।
यसरि प्रयोग गरिने भाइरस तथा तिनीहरुको अंशले कुनै असर नगरोस भनेर प्रयोगशालामा तिनीहरुलाई आवश्यकता अनुसार परिवर्तन र प्रशोधन गरिन्छ । यस्ता भाइरससंग काम गर्न अत्यन्तै विशेष सुविधासम्पन्न र सुरक्षित प्रयोगशालाको आवस्यकता हुन्छ ।
भाइरस अथवा तिनीहरुको कुनै अंश प्रयोग गरेर बनाइएको भ्याक्सिन लगाएपछि मान्छेको शरीरमा त्यो भाइरसलाइ चिन्न सक्ने कोषहरुको निर्माण हुन्छ । यस्ता कोषहरू हाम्रो शरीरमा रगतको माध्यमवाट घुमिरहन्छन ।
जव हामीलाई त्यै भाइरसले संक्रमण गर्छ त्यस्तो बेला पहिले नै बनेका यी कोषहरू एकदमै छिटोछिटो गुणा हुन्छन र धेरै कोषहरुको निर्माण हुन्छ । त्यसपछि यी कोषहरुले त्यो भाइरससंग लड्ने एन्टीवडी बनाउछन र हामी सम्वन्धित रोग लाग्नवाट बच्छौँ ।
अहिले फैलिरहेको कोरोना भाइरसको लागि भ्याक्सिन बनाउने हो भने हामीलाई कोरोना भाइरस अथवा कोरोना भाइरसकै कुनै भागको आवश्यकता पर्छ । त्यसका लागि विश्वभर विभिन्न तरिकाहरु प्रयोग गरिएको छ ।
चीनको सिनोभ्याक बायोटेक कम्पनीले निर्माण गरेको भ्याक्सिनमा सिङ्गै कोरोना भाइरसलाइ निस्क्रिय पारेर प्रयोग गरिएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनमा कोरोना भाइरसको स्पाइक प्रोटिनको प्रयोग गरिएको छ, जुन प्रोटिन प्रयोग गरेर भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ ।
अमेरिकाको मोडर्ना कम्पनिले बनाएको भ्याक्सिनमा भने कोरोना भाइरसको आनुबन्शिक तत्व जसलाई राइबोन्युक्लिक एसिड भनिछ त्यसको प्रयोग गरिएको छ ।
अहिले नेपालमा कोरोना भाइरसको भ्याक्सिन बनेको भनेर विभिन्न संचार माध्यमले समाचार सम्प्रेषण गरेकोले आम जनमानसमा चासो उत्पन्न भएको छ । अझै विश्व स्वास्थ्य संगठनले समेत नेपालको भ्याक्सिनमा चासो देखाएको भनेर नाम चलेका मुलधारका पत्रिकामा समेत समाचार आएपछि सर्वसाधारणमा भ्रम सृजना भएको छ ।
माथि उल्लेख गरेजस्तै कोरोना भाइरसको भ्याक्सिन बनाउन कोरोना भाइरस अथवा यसको कुनै अंशको प्रयोग गर्नुपर्छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस उत्पादन गर्ने र त्यसको प्रशोधन गर्ने कार्य सुरु भएको छैन । त्यसैले तत्काल नेपालमा कोरोना भाइरसको भ्याक्सिन बनाउन सम्भव देखिदैन । भ्याक्सिन भनेको सम्वन्धित रोग लगाउने भाइरस अथवा तिनीहरुको कुनै भाग प्रयोग गरेर बनाइने भएकोले, यी चिजहरुको अभावमा जडिबुटी अथवा झारपातवाट मात्रै भ्याक्सिन बनाउन सकिदैन ।
तर नेपाल सरकारले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लगानी बढाउने हो र उपयुक्त प्रयोगशाला अनि वातावरणको निर्माण गर्ने हो भने भविष्यमा यस्ता खोपहरु निर्माण गर्न नेपाल आफै पक्कै सफल हुनेछ ।
(डा. ढकाल जोह्न्स होप्किन्स विश्वविद्यालयमा इन्फ्लुएन्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगितामा कार्यरत छन् )


डा. सन्तोष ढकाल




