भिटेनलाई नपक्रिन उच्च अदालतको आदेश

कात्तिक १९, काठमाडौं ।
भिटेन भनी चिनिने गायक समीर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

मंगलबार घिसिङले प्रहरी प्रधान कार्यालय नक्साललाई विपक्षी बनाई दायर गरेको मुद्दामा मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले मुद्दाको टुंगो नलागेसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।

‘हाल यी निवेदकले उक्त गीत आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट हटाइ आपत्तिजनक ठानिएका शब्दलाई संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा अन्य फौजदारी कसूरको अनुसन्धान तहकिकातको प्रयोजनको लागि प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीत संगितको विषयलाई लिएर पक्राउ गर्ने तथा धरपकड गर्ने काम नगर्नु, नगराउनू,’ आदेशमा भनिएको छ ।

भिटेनको गीतमा प्रयोग भएका शब्द गलत हो वा होइनन् भन्ने कुरा प्रहरीको जवाफ आएपछि अन्तिम निर्णय गर्ने आदेशमा उल्लेख छ ।

आदेशमा प्रहरीलाई यस विषयमा कारण देखाउ आदेश समेत जारी भएको छ ।

भिटेनले केही दिन अघि ‘पार’ बोलको गीत युट्युबमा हालेपछि प्रहरी प्रधान कार्यालयले पत्र लेखेर उनलाई पक्राउ गर्न आदेश दिएको थियो । यसपछि उनले सो भिडियो युट्युबबाट हटाएका थिए । विज्ञप्ती जारी गर्दै उनले आफूले सो भिडियो संशोधनसहित हाल्ने बताएका थिए ।