सस्तो पाएपछि मकैबाट मदिराको कच्चा पदार्थ उत्पादन, भारतबाट आयात बढ्यो

कात्तिक १९, मोरङ ।
सस्तोमा पाइएपछि विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन् । भारतमा मकै सस्तिएपछि ती उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन् ।

मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात बढेको छ । नेपालमा मकैको प्रयोग मुख्यतया कुखुरा लगायत पशुपन्छीका दाना उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको थियो ।

शारडा समूहको सञ्चालनमा सुनसरीमा रहेको मदिरा उद्योग प्रिमियर अर्गानिक्सले चामलको सट्टा मकैबाट मदिराको कच्चा पदार्थ उत्पादन गर्न थालेको छ । प्रिमियरले रेक्टिफाइड स्पिरिट (आरएस) र एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) गरी मदिराका २ प्रकारका कच्चा पदार्थ उत्पादन गरेर अन्य मदिरा उद्योगलाई बिक्री गर्छ ।

‘चामलबाट भन्दा मकैबाट केही कम मात्रामा नै कच्चा पदार्थ उत्पादन हुन्छ,’ प्रिमियरका सञ्चालक प्रदीप शारडाले भने, ‘तर यस वर्ष मकैको मूल्य सस्तो भएकाले हामीले मकैबाट आरएस र इएनए उत्पादन गर्दा नै नाफा हुने देख्यौँ । त्यसैले मकैबाट उत्पादन गर्न थालेका हौँ ।’ उद्योगी शारडाले प्रिमियर अर्गानिक्सलाई आरएस र इएनए उत्पादन गर्न दिनको ५० देखि ६० टन मकै आवश्यक पर्ने जानकारी दिए ।

प्रिमियर बाहेक केही उद्योगले मात्रै मकै प्रयोग गरेका छन् । ब्लेन्डेड राम्रोसँग गर्न नसकेमा मकैबाट बनेको मदिराको स्वादमा फरक पर्ने एक मदिरा उद्योगीले बताए । ‘चामल र मोलासिसको जस्तो स्वाद मकैमा आउँदैन,’ ती उद्योगीले भने, ‘विदेशमा राम्रो ब्राण्डमा पनि प्रयोग भएको छ । तर त्यसमा ब्लेन्ड राम्रो गर्न जान्नुपर्छ । त्यही भएर सस्तो भयो भन्दैमा प्रयोग गर्नुपर्छ भन्ने ठानेनौँ ।’ ती उद्योगीले केही समयको नाफाका लागि मकै मिसाएर ब्राण्ड बिगार्न नखोजिएको बताए ।

चालु आर्थिक वर्ष २०७७–७८ को प्रथम त्रैमासिक अवधिमा विराटनगर नाकाबाट गत वर्षको सोही अवधिको भन्दा ६१ हजार ३ टन बढीले मकै पैठारी भएको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाकाबाट १ अर्ब ६२ करोड ९८ लाख मूल्यको ६९ हजार ८ सय ६७ मेट्रिक टन मकै पैठारी गरिएको छ । उक्त मकै प्रतिकिलो २३ रुपैयाँ ३२ पैसाले पैठारी गरिएको पाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६र०७७ को असोज मसान्तसम्ममा भने विराटनगर नाकाबाट ३३ करोड ४ लाख मूल्यको ८ हजार ८ सय ६४ टन मात्र मकै पैठारी गरिएको थियो । मकै चालु आवको भन्दा महँगो दरमा प्रति किलो ३७ रुपैयाँ २७ पैसाले आयात गरिएको देखिन्छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा भन्दा गत आव २०७६–७७ मा मकै महँगो मूल्यमा पैठारी गरिएको छ । साथै अघिल्लो आव ०७५–७६ मा भन्दा गत आव २०७६–७७ मा मकैको पैठारी ३२ हजार ४ सय ९६ टनले कम छ ।

अघिल्लो आव २०७५र७६ मा ३ अर्ब ५७ करोड ४६ लाख मूल्यको १ लाख २१ हजार १ सय ४८ टन मकै पैठारी गरिएको थियो । उक्त मकैको प्रतिकिलो २९ रुपैयाँ ५० पैसा परेको देखिन्छ ।

त्यस्तै गत आव २०७६–७७ मा २ अर्ब ८६ करोड ६९ लाख मूल्यको ८८ हजार ६ सय ५२ टन मकै विराटनगर नाकाबाट पैठारी गरिएको छ । उक्त मकै अघिल्लो आवभन्दा महँगो दरमा प्रतिकिलो ३२ रुपैयाँ ३३ पैसाका दरले पैठारी गरिएको थियो ।

नेपाल दाना उत्पादक संघका राष्ट्रिय उपाध्यक्ष एवम् सागर फिड उद्योगका सञ्चालक ज्ञानु पराजुलीका अनुसार गत वर्ष महाराष्ट्र र मध्यप्रदेशमा आएको बाढीका कारण भारतमा मकैको फसल बिग्रिएको थियो र त्यहाँ नै अभावको स्थिति उत्पन्न भएको थियो । भारतबाट गत वर्ष मागबमोजिमको मकै पैठारी हुन नसकेपछि नेपालका दाना उद्योगीले समुद्रपारका युक्रेन र बर्माबाट मकैको पैठारी गरेका थिए ।

अभावका कारण गत वर्ष भदौ महिनामा मकैको मूल्य प्रति किलो ३४ देखि ३५ रुपैयाँ थियो भने पुस–माघतिर ४२ रुपैयाँ पुगिसकेको थियो । ‘तर यस वर्ष भारतमा मकैको उत्पादन राम्रो छ र मूल्य पनि यतिबेला सस्तो नै छ,’ उद्योगी पराजुलीले भने, ‘भारतमा मकैको सबैभन्दा ठूलो मन्डी बिहारको गुलाबबाग हो । गुलाफबाग विराटनगरको दक्षिण सिमानाबाट ७० किलोमिटर टाढा छ । विराटनगर नाकाबाट भित्र्याइने अधिकांश मकै त्यहीँबाट पैठारी गरिन्छ ।’

उनले नेपालका दाना उद्योगले कात्तिक महिनाभित्र मकै खरिद गरेर स्टक गरिसक्ने बताए । कात्तिकपछि मकैको मूल्यमा वृद्धि हुने हुँदा उद्योगहरूले एक वर्षलाई पुग्ने मकै कात्तिकको दोस्रो हप्तासम्म खरिद गरिसक्छन्। पराजुलीले नेपालमा साना–ठूला गरी ६० वटा दाना उद्योग भएको जानकारी दिए । जसमध्ये प्रदेश १ मा मात्र १४ वटा छन् ।

पशुपन्छीको दानाको प्रकार हेरेर दानामा ५० देखि ६० प्रतिशत मकैको प्रयोग गरिन्छ । ‘नेपालका सबै दाना उद्योगलाई वर्षमा साढे ५ देखि ६ लाख टन मकै चाहिन्छ,’ उनले भने, ‘नेपालको एक उद्योगले कच्चा पदार्थका रूपमा दैनिक औसत ३० टन मकै प्रयोग गर्दा देशभरिका उद्योगलाई दिनमा १ हजार ८ सय टन मकै आवश्यक पर्छ ।’

देशभरिका दाना उद्योगलाई नेपालमा गरिएको मकैको उत्पादनले एक महिना पनि धान्न नसक्ने पराजुलीले बताए ।