कात्तिक, २२ काठमाडौं । लोकप्रिय मानिएको सामाजिक सञ्जाल एप ह्वाट्सएपले नयाँ फिचर थप गर्ने भएको छ । उक्त फिचरमा ह्वाट्सएपमा भएको म्यासेज च्याट ७ दिनमा आफै हराउने छ ।
ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ ।
विश्वभर २ अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपले प्रयोगकर्ताहरुका च्याटको गोपनियतामा वृद्धि गर्नका लागि यो नयाँ फिचर ल्याउन लागेको बताएको छ ।
यद्यपि आफूले सुरक्षित राख्न चाहेका ह्वाट्सएप मेसेजहरु प्रयोगकर्ताले स्क्रिनसट लिएर, फोटो, भिडियो वा डकुमेनटहरु डाउनलोड गरेर तथा अरुलाई फरवार्ड गरेरसमेत सुरक्षित राख्न सक्नेछन् ।
नोभेम्बर महिनाको अन्त्यबाट उक्त नयाँ फिचर ह्वाट्सएपमा उपलब्ध हुने बताइएको छ ।
एक ब्लगपोस्टमा ह्वाट्सएपले सात दिनमा मेसेज आफै हराउने गरी सेटिङ गर्न सकिने बताउँदै ह्वाट्सएपका च्याटिङ स्थायी नहुने तथा विगतमा के विषयमा कुरा गरिएको थियो भन्ने कुरा पनि नभुल्ने गरी नयाँ फिचर ल्याउन लागिएको जनाएको छ ।
ह्वाट्सएपको मातृ कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गले गत वर्षको अप्रिलमै प्रयोगकर्ताको गोपनियतालाई सुदृढ बनाउनका लागि सोसल नेटवर्कमा विविध परिवर्तनहरु गरिने प्रतिबद्धता जनाएका थिए ।
त्यसमध्ये एउटा परिवर्तन चाहीँ निश्चित समयभित्र च्याटहरु आफै हराउने फिचर थप गर्नु थियो ।
साथै फेसबुकले आफ्ना तीनवटा मेसेजिङ प्लाटर्फमहरु ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई एकीकरण गरी एक प्लाटर्फमबाट अर्कोमा सन्देश आदान प्रदान गर्न सकिने बनाउँदैछ ।
बिबिसी







