मजदूर अभावले देशका ८० प्रतिशत इँटा उद्योग बन्द

कात्तिक २३, सप्तरी ।
कोरोना महामारीका कारण मजदुर अभाव हुँदा मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा बोल्दै कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताएका छन् ।

देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बताए ।

उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको गुनासो गर्दै उनले काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले जिल्लाकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्था हुनुपर्ने माग समेत गरे ।

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीमा सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् ।

इँटा व्यवसायी सङ्घ प्रदेश नं २ का उपाध्यक्ष शङ्कर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् ।

बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष तथा इँटा व्यवसायी अनोजकुमार यादवले खुला आकाशमुनि राख्नुपरेकाले वर्षामा इँटाको नोक्सान व्यहोर्नुपरेको बताए । उनले प्राकृतिक विपद्का बेला क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरे ।

सङ्घका निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष भीमराज यादवको अध्यक्षतामा आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष दुर्गानन्दप्रसाद साहले कोभिड–१९ का कारण लामो समयदेखि भारतीय सीमानाका बन्द रहेकाले उद्योगमा इँटा पोल्न चाहिने कोइला आपूर्ति नभएको र भारतीय मजदुर पनि आउन नसकेकाले १० प्रतिशत मात्र इँटा उत्पादन भइरहेको जानकारी गराए । (रासस)