नियमित अन्तरराष्ट्रिय उडानका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने तयारी

कात्तिक २४, काठमाडौं ।
नियमित अन्तरराष्ट्रिय उडानका लागि सरकारलाई आग्रह गर्ने र यो प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी भइरहेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यस्तो तयारी गरेको जनाएको छ ।

सिसिएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको हो । बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि प्रस्तावमा उल्लेख छ । बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णयसमेत गरेको छ ।

सीसीएमसीका सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म विदेशमा रहेका एक लाख ३६ हजार दुई सय १६ जनाको उद्दार भएको छ ।

उनले भने, ‘कूटनीतिक नियोगहरुबाट उद्धार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको र कोही भए नियमित उडानमा समावेश गर्न सकिने त्यसअनुसार नै निर्णय भएको छ ।’

सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।

साथै कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ ।

सीसीएमसीका सचिव गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने समेत छलफल भएको छ ।