कात्तिक २४, काठमाडौं ।
किसानले विक्री गर्ने कच्चा जुटको मूल्य एकाएक आकासिएको छ ।
आइतबार भारतको पश्चिम बङ्गालमा उच्च गुणस्तरको कच्चा जुटको मूल्य प्रति किलोको एक सय २८ पुगेको छ । नेपाल जुट सङ्घका अध्यक्ष राजकुमार गोल्छाका अनुसार भारतमा यति बेला जुटको मूल्य प्रति किलो भारु ५५ देखि ८० रुपैयाँसम्म पुगेको छ । गत वर्ष यही बेला भारु २० देखि ४५ रुपैयाँसम्म थियो ।
स्वस्तिक जुट इन्डस्ट्रिजका सञ्चालक चम्पालाल राठीले गत वर्ष यही बेला प्रति किलो नेरु ६० र यस वर्ष नेरु १ सय १० को मूल्य हालेर भारतबाट कच्चा जुट पैठारी गरेको जानकारी दिए । बङ्गलादेशमा गरिएको जुट खेतीमा कीरा लागेर तथा भारतको विहार र पश्चिम बङ्गालमा बर्खा धेरै भएर दुबै देशमा कच्चा जुटको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कच्चा जुटको अभाव भएसँगै यसको मूल्य पनि दोब्बर भएको हो ।
मोरङ र सुनसरीमा हाल सञ्चालित ६ वटा जुट उद्योगले भारतको पश्चिम बङ्गाल राज्यको इस्लामपुर, ठाकुरगञ्ज, बहादुरगञ्ज, रायगञ्ज र मालदहबाट पैठारी गर्ने गर्दछन् । त्यस्तै निम्न गुणस्तरको जुट विहार राज्यको फारबिसगञ्जबाट ल्याइन्छ ।
छ वटै उद्योगलाई वार्षिक ६० हजार टन जुट आवश्यक पर्नेमा नेपालको उत्पादनले बढीमा ३० प्रतिशत मात्र धान्दै आएको छ । बाँकी ७० प्रतिशत आपूर्ति पैठारीबाटै गरिन्छ ।
‘यस वर्ष भारतमा नै जुटको उत्पादन आधा घटेको छ,’ उद्योगी राठीले भने, ‘त्यसैले भारतले नेपालतर्फ प्याज आउन नदिएझैँ जुटको निकासी पनि रोकिदियो भने के गर्ने भन्ने डर उत्पन्न भएको छ ।’
अध्यक्ष गोल्छाले कच्चा जुटको मूल्यसँगै जुटबाट उत्पादित सामग्रीको मूल्य भने वृद्धि हुन नसकेको बताए । ‘हामी यति बेला दोहोरो मारमा छौँ,’ उनले भने, ‘उत्पादित सामग्रीको मूल्य वृद्धि भएन भने हामी स्वतः घाटामा हुनेछौँ । मूल्य वृद्धि भयो भने ग्राहकहरू प्लास्टिकका समानान्तर सामग्रीमा आकर्षित हुने डर छ ।’
यति बेला जुटका बोराको मूल्य प्रति किलो १ सय ४० देखि १ सय ५० रुपैयाँ छ । त्यस्तै सुतलीको मूल्य १ सय देखि १ सय १० रुपैयाँ र ह्यासियन चट्टीको १ सय ९० देखि २ सय १० रुपैयाँ छ ।
नयाँ जुटको मूल्यमा अचाक्ली वृद्धि भएसँगसँगै उत्पादित वस्तुमा पनि मूल्यवृद्धि हुने कुरा स्वाभाविक छ । तर सम्भावित मूल्यवृद्धिले सम्पूर्ण विक्रीमै असर पार्ने व्यवसायीलाई डर छ ।
भारतका जुट उद्योगहरूलाई भने खासै समस्या नभएको गोल्छाको भनाइ छ । भारत सरकारको फुड कर्पोरेसन अफ इन्डियाले त्यहाँका जुट उद्योगमा उत्पादित बोराहरू खरिद गर्दै आएको छ ।
त्यसैले मूल्यवृद्धि भए पनि भारतका जुट उद्योगले डराउनु पर्ने अवस्था नभएको बताइन्छ । नेपालका जुट उद्योगको मुख्य बजार भारत नै हो । यहाँका जुट उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत हिस्सा भारत निर्यात गर्दै आएका छन् ।
मोरङ र सुनसरीमा सञ्चालित जुट उद्योगले आर्थिक वर्ष २०७५–७६ मा ६ अर्ब २४ करोड १० लाख र आव २०७६–७७ मा ५ अर्ब ६३ करोड ७३ लाख मूल्यका जुटका उत्पादन भारततर्फ निर्यात गरेका थिए ।







