‘पठान’बाट कमब्याक गर्दै शाहरुख, जन एब्राहम भिलेनको भूमिकामा

कात्तिक २४, काठमाडौं ।
शाहरुख खानले फिल्म पठानबाट बलिउडमा कमब्याक गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीसँग दिपिका पादुकोणले स्क्रिन शेयर गर्नेछिन् भने जन एब्राहम भिलेनको भूमिकामा देखिनेछन् ।

खानले दुई वर्ष अघि काम गरेको फिल्म ‘जिरो’ असफल भएको थियो । त्यसयता उनी पहिलोपल्ट फिल्म गर्ने तय भएको छ ।

पठान यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सन फिल्म रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार, चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ । फिल्मका लागि सलमानले १२ दिन सुटिङ गर्ने रिपोर्टहरूमा उल्लेख छ ।

यसैबीच, चलचित्रका लागि जोन र दीपिकाले चर्को पारिश्रमिक लिन लागेको पनि खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, जन एब्राहमले २० करोड रूपैयाँ पारिश्रमिकस्वरुप लिएका छन् भने दिपिकाले १५ करोड पारिश्रमिक लिएर काम गर्ने पक्का भएको छ ।