कात्तिक २८, काठमाडौं ।
बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भेटिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’का अनुसार एक दिनभित्र त्यहाँ ३३ हजार ४ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुधबार संक्रमित संख्या २२ हजार ९ सय ५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५.८ प्रतिशत संक्रमित थपिएर संक्रमित संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ ।
यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ९० हजार १ सय ९५ पुगेको छ ।
इंग्ल्याण्डमा चार हप्ता लामो लकडाउन लागू गरेको एक सातापछि संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले कम्तिमा डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा लकडाउन गरेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ५ सय ६३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार ९ सय २८ पुगेको छ ।
हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो । कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरोपेली मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ ।
यसैगरी विश्वभर सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा रहेको छ ।
त्यहाँ पछिल्लो २४ घन्टामा थप एक हजार ६ सय ६८ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने एक हजार २ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जना अस्पतालमा उपचाररत छन् । (एजेन्सी)







