मंसिर १, काठमाडौं ।
प्रविधि कम्पनी माइक्रोसफ्टले उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोना भाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेको आरोप लगाएको छ ।
उक्त कम्पनीले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ’जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न भएको जनाएको छ । यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो ।
ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए । तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।
माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्ने प्रयासहरू भएका छन् । बिबिसीका अनुसार आक्रमणमा परेका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका छन् ।
माइक्रोसफ्टले भनेको छ, ‘रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ‘ब्रुट फोर्स’ उपाय अपनाएको छ ।’
एउटा उत्तर कोरियाली समूहले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अधिकारीको नाम प्रयोग गरेर इमेल पठाएर पासवर्ड हत्याउने प्रयास गरेको छ । त्यस्ता प्रयासहरू केही असफल भए पनि केही सफल समेत भएका भन्दै माइकोसफ्टले सजग गराएको छ ।
रुसले यसअघि खोपको अध्ययनलाई लक्षित गरिएको भन्ने विवरण अस्वीकार गरेको थियो । राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले भने अहिलेसम्म कुनै जवाफ दिएका छैनन् ।







