सामाजिक विकासमन्त्रीमा कोरोना सङ्क्रमण

मंसिर २, सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । उनलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यस अघि सुवेदीका अर्का स्वकीय सचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएका थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते शाहमा कोरोना पुष्टि भएको थियो ।

उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।