ओली अनुपस्थित भए पनि बुधबार नेकपा सचिवालय बैठक बस्ने तयारी

मंसिर ३, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिको सचिवालय बैठक बुधबार १ बजे बस्ने भएको छ । बैठक पर सार्न प्रधानमन्त्री समेत रहेका ओलीले कसरत जारी राखेका छन् ।

तर बहुमत सचिवालय सदस्य बुधबारको बैठक कुनै हालतमा नरोकिने बताउँछन् । यसै कारण आज बैठक जसरी पनि सञ्चालन हुने देखिन्छ ।

‘बैठक ओली नआए पनि कुनै हालतमा रोकिँदैन, बस्छ’, एक सचिवालय सदस्यले भने, ‘प्रस्ताव फिर्ता लिन र बैठक पछि सार्न ओलीले प्रयास गरिरहेको बुझिएको छ । तर अव बैठक रोकिन्न । बैठक बसेर बहुमतले निर्णय गरेर अगाडि बढ्छ ।’

यसैबीच, बालुवाटारमा ओली पक्षको भेला भएको छ । प्रचण्डको प्रस्ताव फिर्ता गर्न आफ्ना निकटस्थहरुलाई खटाएका ओलीले प्रचण्डलगायतका नेताहरु पछि नहट्ने देखेपछि आफूपक्षीय नेताहरुसँग बालुवाटारमा छलफलमा जुटेका छन् ।

मंगलबार बिहान बैठक पछि धकेल्न आफ्नो प्रस्ताव प्रचण्डकहाँ पठाएका ओलीले दिउँसो आफू निकट सचिवालय सदस्य र स्थायी समिति सदस्यहरुलाई बालुवाटारमा बोलाएर भावी रणनीतिका बारेमा छलफल गरेका हुन् ।

बालुवाटारमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल, पृथ्वी सुव्वा गुरुङ लगायतका नेताहरुसँग छलफल गरेका हुन् । ओलीको प्रस्ताव लिएर खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्डले बुधबारका लागि बोलाइएको बैठक कुनै हालतमा नरोकिने जवाफ दिएका थिए ।