इराक र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने प्रस्तावमा रिपब्लिकनको असहमति

मंसिर ३, काठमाडौं ।
वरिष्ठ रिपब्लिकनहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति असहमति जनाउँदै सचेत गराएका छन् ।

अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न गइरहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन् ।

उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन् ।

तर आमरूपमा ट्रम्पका कट्टर रक्षकका रूपमा प्रस्तुत हुने सिनेटका प्रमुख नेता मिच मक्नेलले उक्त योजनालाई ‘एउटा गल्ती’ भनी टिप्पणी गरेको बिबिसीले जनाएको छ । उनले राष्ट्रपतिलाई पद छाड्नुअघि रक्षा र विदेश नीतिका सम्बन्धमा ‘भूकम्प निम्त्याउने खालका परिवर्तन’ नगर्न चेतावनी दिएका छन् ।

उक्त कटौती जो बाइडन ह्वाइट हाउस प्रवेश गर्नु पाँच दिनअघि आगामी ज्यानुअरीमा हुने तय भएको छ ।

मक्नेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन् । उनीहरूमध्ये केहीले त्यसो गर्नु गल्ती हुने बताएका छन् ।

अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसैनलाई हटाएको थियो ।

उक्त सेनाले नरसंहार गर्ने अस्त्र नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो । अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज तैनाथ छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अल–कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो ।

त्यसबेला अफगानिस्तान अल–कायदाको आधार क्षेत्रको रूपमा रहेको थियो ।

तालिबान पुनः सङ्गठित भयो र सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहेको छ ।

अमेरिकाले यसै वर्षको सुरुदेखि तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो । (बिबिसी)