मंसिर ३, काठमाडौं ।
पृथ्वीबाट सोमवार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेको बिबिसीले जनाएको छ ।
उनीहरू चढेको ‘स्पेसएक्स ड्रागन क्याप्स्यूल’ उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको थियो । माइक हप्किन्स, श्यानन वाकर, भिक्टर ग्लोभर र सोइची नोगुची अबको छ महिना अन्तरिक्षमा बस्नेछन् ।
आईएसएसमा पहिला नै तीन अन्तरिक्षयात्रीहरू केट ¥युबिन्स, सेर्गेइ रिजिकोभ र सेर्गेइ कुड–स्वेर्च्कोभ थिए ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सात व्यक्ति त्यहाँ हुँदा सूक्ष्मगुरुत्व विज्ञानको काम तीनगुना बढी गर्न सकिन्छ । आईएसएस पृथ्वीबाट ४ सय १० किलोमिटर माथि अन्तरिक्षमा छ ।
ड्रागन र आईएसएसबीच भएका ढोकाहरू खोल्नुअघि आगन्तुक समूहले सील परीक्षण र चाप समानीकरणका लागि केही समय कुर्नुपर्नेछ ।
त्यसपछि उनीहरूलाई त्यहाँ स्वागत गरिनेछ अनि उनीहरूले पृथ्वीमा सञ्चारमाध्यमसँग कुराकानी गर्नेछन् ।
त्यहाँ पुग्नुअघि चार अन्तरिक्षयात्रीले आफ्नो क्याप्स्यूलबाट भिडिओ देखाउँदै विभिन्न भागको वर्णन गरेका थिए । ‘यो अविश्वसनीय अनुभव हो । अहिलेसम्म गज्जब लागिरहेको छ,’ टोली नेता हप्किन्सले भिडियोमा भनेका छन्, ‘हामी छ महिना लामो अभियानको २१ घण्टामा छौँ । त्यसैले हामी उत्साहित छौँ ।’
कुनै प्रमाणित र व्यवसायिक मानव यातायात प्रणालीबाट आईएसएसमा आलोपालो गर्न गएका अन्तरिक्षयात्रीहरूको यो पहिलो समूह हो ।
उनीहरू फ्याल्कन रकेट र ड्रागन क्याप्स्यूलको प्रयोग गरेर पृथ्वीबाट अन्तरिक्षमा गएका हुन् । क्यालिफोर्नियास्थित स्पेसएक्स कम्पनीले नासालाई उक्त सेवा उपलब्ध गराउँछ ।
यसपछि उक्त कम्पनीले नासाका थप पाँचवटा टोलीलाई आईएसएसमा आलोपालो गर्न लग्नेछ ।
अन्तरिक्षयात्रीलाई पठाउन नासाले पहिला आफ्नै साधन प्रयोग गथ्र्यो । अहिले उसले बाह्य संस्थाबाट शुल्क तिरेर सेवा लिन थालेको छ ।
तत्कालका लागि सशुल्क सेवा लिएको नासाको ध्यान चन्द्रमामा फेरि मानव पठाउने रकेट निर्माणमा केन्द्रित छ ।
हप्किन्सको टोलीसँग अन्तरिक्षमा विभिन्न अनुसन्धान गर्ने योजना छ । त्यसैअन्तर्गत मानव अङ्गको आकृति र कामको नक्कल गर्ने तन्तुयुक्त चिपको परीक्षण गरी माइक्रोग्राभिटी वा सूक्ष्मगुरुत्वको मानव स्वास्थ्य र रोगमा कस्तो प्रभाव पर्छ भनेर अध्ययन पनि गरिनेछ ।
उक्त टोली आईएसएसबाट कम्तीमा चार पटक बाहिर निस्किनेछ ।
आईएसएसमा छ महिना बस्दा ती अन्तरिक्षयात्रीहरूले धेरै अन्तरिक्षयानहरू आएको र गएको देख्नेछन् ।
तीमध्ये बोइङ एरोस्पेस कर्पोरेशनको स्टारलाइनर क्याप्स्यूल पनि हुनेछ ।
स्पेसएक्स ड्रागनजस्तै स्टारलाइनर पनि नासा र उससँग सहकार्य गरिरहेका निकायहरूलाई व्यावसायिक रूपमा अन्तरिक्षयात्रीहरू ल्याउन र लैजान प्रयोग गरिएको सेवा हो । (बिबिसी)







