बैंकले ऋणको ब्याजदर घटाए

मंसिर ४, काठमाडौं ।
बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रिनु तर ऋण प्रवाह बढ्न नसक्दा अहिले ब्याजदर घटाउन बैंकहरूलाई दवाव परेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले सबैजसो बैंकहरुको अहिले ब्याजदर घटेको जानकारी दिए । ‘एक वर्ष अघि हाम्रो कर्जाको औसत व्याजदर ९.७५ प्रतिशत थियो, अहिले ८ को हाराहारीमा झरिसकेको छ’ उनले भने ।

बैंकहरुले ऋणमा प्रदान गर्ने व्याजदर घटिरहेको तथ्य घटेको आधार दरले पनि पुष्टि गर्छ । बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणले नै बैंकहरुको आधार दर एक वर्षमै करिब २ प्रतिशतले घटेको देखिन्छ ।

असोज मसान्तसम्म २८ वाणिज्य बैंकहरुको औसत आधार दर ७.६५ प्रतिशतमा झरेको छ । जवकि गत वर्षको यसै अवधिमा ९.४० प्रतिशत रहेको थियो ।

सबै बैंकको आधार दर ९ अंकमुनि झरेको छ । गत वर्ष एक दर्जन बैंकहरुको आधार दर दोहोरो अंकमा रहेको थियो । आधार दरकै आधारमा बैंकहरुले ऋणीबाट लिने ब्याज तय गर्दछन् ।

आधार दरमा निश्चित प्रिमियम दर जोडेर बैंकहरुले ऋणीका लागि ब्याजदर तय गरिदिन्छन् ।

अहिले आधार दर मात्रै घटेको छैन, जोडिने प्रिमियम दर समेत बैंकहरुले घटाएका छन् । संकलन भएको निक्षेप निश्क्रिय रहनुभन्दा कर्जाका रुपमा परिचालन हुँदा फाइदा हुने भएकाले बैंकहरुले प्रिमियम दर घटाएरै अहिले ऋण दिने गरेका छन् ।

‘पहिले ३–४ प्रतिशत प्रिमियम जोडेर ऋण दिइने गरेकोमा अहिले त एक डेढ प्रतिशत मात्रै राख्न सकेका छौँ,’ सिइओ श्रेष्ठले भने ।

सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा बढेकै कारण बैंकहरुको नाफा समेत अहिले खुम्चिएको उनले स्पष्ट पारे ।

तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ५.७४ प्रतिशत मात्रै छ । ऋण लिनेले आधार दरमा जोडिने प्रिमियम दर पनि बुझ्नु जरुरी हुन्छ । एउटै आधार दर भएका दुई बैंकमध्ये जुन बैंकको प्रिमियम दर कम हुन्छ, त्यही बैंकको ब्याज सस्तो हुन आउँछ ।

ऋण लिन चाहनेलाई कतिपय बैंकले अहिले विभिन्न अफर समेत ल्याएका छन् । सस्तो ब्याजदर र केही अवधिसम्म नबढाउने प्रतिबद्धताका साथ बैंकहरुले अफर ल्याएका हुन् ।

अर्कोतर्फ घर, जग्गा, गाडी खरिद जस्ता व्यक्तिगत आवधिक प्रकृतिका कर्जामा कहिल्यै ब्याजदर नबढाउने शर्तमा बैंकहरुले ऋण दिन थालेका छन् ।

यसले गर्दा अहिले घटेको ब्याजदरबाट ऋण लिनेले लामो अवधिका लागि समेत फाइदा लिन सक्नेछन् । यस्तो ब्याजदर नै एकल अंकमा झरेको छ ।

अर्थात ऋण चुक्ता नहुन्जेलसम्म १० प्रतिशतमुनि नै ब्याजदर कायम रहने गरी व्यक्तिगत नाममा घर, गाडीजस्ता ऋण लिन सकिनेछ ।