गुल्मीका कोरोना संक्रमितको मृत्यु

मंसिर ४, बुटवल ।
गुल्मीका थप एक संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उनको मृत्यु भएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक २३ गते ती पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।