आर्थिक वर्षको चार महिनामा ८१ उद्योग दर्ता

मंसिर ६, काठमाडौं ।
चालु आर्थिक वर्षको चार महिनामा उद्योग विभागमा जम्मा ८१ वटा उद्योग दर्ता भएका छन् ।

कोरोना भाइरसको असरले नयाँ लगानीको वातावरण प्रतिकुल बन्दा यो वर्ष अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा झन्डै ३७ प्रतिशतले कम संख्यामा उद्योग दर्ता विभाग भएको छ । गत आवको पहिलो चार महिना (कात्तिक मसान्तसम्म) मा एक सय २८ उद्योग दर्ता भएका थिए ।

गत वर्ष फागुनदेखि कोभिड–१९ संक्रमण बढ्न थालेपछि नयाँ लगानीमा प्रतिकुलताको स्थितीले थपिने उद्योगको संख्या पनि न्यून देखिएको विभागले जनाएको छ ।

चालु वर्षको कात्तिक मसान्तसम्ममा १५ वटा ठूला उद्योग दर्ता भएका छन् । यस्तै, मध्यम स्तरका १६ वटा र ५० वटा साना उद्योग दर्ता भएको देखिएको छ ।

यी उद्योगहरुमा कुल ५७ अर्ब ६१ करोड लगानीको प्रतिवद्धता आएको विभागको रेकर्डबाट देखिएको छ । यो लगानी प्रतिवद्धता गत वर्षको पहिलो चार महिनाको भन्दा ३९ अर्ब रुपैयाँले बढी हो ।

गत वर्ष समान अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँबराबरको मात्र लगानी प्रतिवद्धता आएको थियो । यद्यपि, ठूलो लगानी आवश्यक पर्ने १२ जलविद्युत कम्पनी दर्ता भएकाले लगानी प्रतिवद्धता रकम बढेको देखिए पनि यो अवधिमा उद्योग संख्या भने ४७ वटाले घटेको छ ।

यो अवधिमा ३१ वटा विदेशी लगानी स्वीकृत भएका छन् भने स्वदेशी र विदेशी संयुक्त लगानीका ६ उद्योग छन् । यस्तै, स्वदेशी ४४ वटा स्वदेशी लगानी स्वीकृत भएका छन् ।

यस्तै, पछिल्लो चार महिनामा दर्ता भएका सबै उद्योगले गरी कुल ४ हजार ९ सय ७९ जनालाई रोजगारी दिने जनाएका छन् । पोहोर यही अवधिमा दर्ता १ सय २८ उद्योगले ७ हजार ९ सय ५३ जनालाई रोजगारी दिने उल्लेख गरेका थिए ।

चालु वर्षको चार महिनामा दर्ता भएका ठूला उद्योगमा अधिकांश ऊर्जा क्षेत्रका छन् । १५ ठूलामध्ये १२ उद्योग जलविद्युत क्षेत्रका नै रहेका छन् । बाँकी तीनमध्ये दुईवटा उत्पादनमूलक क्षेत्रका र एउटा पर्यटन क्षेत्रको रहेको छ ।

विभागको रेकर्डअनुसार, संखुवासभा जिल्लामा ९७.२ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गर्नेगरी दर्ता भएको केविएनआर इस्वा पावर लिमिटेड यीमध्ये सबैभन्दा ठूलो लगानीको रहेको छ । केवीएनआर इस्वा पावरले १३ अर्ब ५७ करोड रुपैयाँ लगानी गर्दै एक सय १३ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।

यस्तै, १० अर्ब ३१ करोड लगानी गर्नेगरी हाइड्रो भिलेज प्रालि दर्ता भएको छ । जसले म्याग्दी जिल्लामा ५७.३० मेगावाटको जलविद्युत आयोजना बनाउने उल्लेख छ । स्वदेशी लगानीको यो उद्योगले ६४ जनालाई रोजगारी दिने जनाइएको छ ।

जलविद्युततर्फकै सुस्मित इनर्जी प्रालि यो वर्ष विभागमा दर्ता भएको तेस्रो ठूलो लगानीको उद्योग हो । म्यादी जिल्लाको धवलागिरी गाउँपालिकामा यसले २० मेगावाट क्षमताको जलविदुत् आयोजना विकास गर्ने जनाइएको छ । उद्योगले ४७ जनालाई रोजगारी दिने उल्लेख गरेको छ ।

यस्तै, मोक्सो टाइल्स कम्पनीले पनि ६६ करोड ७८ लाख लगानी गर्दै १ सय १४ जनालाई रोजगारी दिने जनाएको छ । यो कम्पनीले वार्षिक एक करोड ६० लाख फ्लोर टाइल्स र एक करोड २५ लाख वाल टायल्स उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पर्यटन क्षेत्रतर्फ पनि ६६ करोड लगानी गर्नेगरी एउटा ठूलो उद्योग दर्ता भएको छ । काठमाडौंको नागार्जुनमा केबलकार निर्माण तथा संचालन गर्नेगरी विभागमा दर्ता भएको भ्यु नागार्जुन केबलकार प्रालि ले उक्त लगानी प्रतिवद्धता जनाएको हो ।

यसले वार्षिक ११ लाख २० हजार यात्रुलाई सेवा दिने र यसबाट कम्तिमा ६८ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको रेकर्डमा उल्लेख छ । उक्त केबलकारको बटम स्टेशन र टप स्टेशन दुवै काठमाडौंको नागार्जुन नगरपालिकामा नै हुनेछ ।

दर्ता भएका ठूला उद्योगमध्ये लाइफस्टार फर्मास्युटिकल्स प्रालि पनि रहेको छ । यसले ३८ करोड रुपैयाँ लगानी गरेर पर्सा जिल्लामा विभिन्न प्रकारका औषधि उत्पादनका लागि उद्योग स्थापना गर्ने विभागले जनाएको छ । यसबाट ६८ जनालाई रोजगारी पाउने लाइफस्टारले विभागलाई जानकारी दिएको छ ।

कृषिमा समेत २२ करोड लगानी गर्नेगरी उद्योग आएको छ । यसै आवको पछिल्लो चार महिनाको अवधिमा अरिहन्त एग्रो फर्म एन्ड रिसर्च सेन्टर प्रालि २२ करोड लगानी गर्ने र २ सय ६४ जनालाई रोजगारी दिनेगरी विभागमा दर्ता भएको हो ।

सुनसरी जिल्लामा स्थापना हुने शतप्रतिशत स्वदेशी लगानीको यो उद्योगले हरियो तरकारी, फलफूल, चामल, तोरी, उखु लगायतका कृषि उपज उत्पादन गर्ने जनाएको छ । यसले वार्षिक हरियो तरकारी ५० मेट्रिक टन, फलफूल १०० टन, चामल ५०० टन, तोरी २०० टन र उखु २५०० टन उत्पादन गर्ने जानकारी विभागलाई दिएको छ ।