मंसिर ७, बुटवल ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तारको योजना सुरु भएको करिब डेढ वर्षपछि कामले बल्ल गति लिन थालेको छ ।
आवश्यक पूर्व तयारी नहुनु र कोरोना महामारी लगायतका कारण काम सुरु भएर पनि गति लिन सकिरहेको थिएन । राजमार्ग विस्तारको काम करिब एक महिनायता भने युद्धस्तरमा जारी छ ।
आयोजना निर्माण जिम्मा पाएका चिनियाँ निर्माण कम्पनीका प्राविधिकसहितको टोली कोरोनाविरुद्धको खोप लगाएर फर्किएसँगै आयोजनाको कामले गति लिएको हो ।
पूर्व तयारी नै नगरी थालिएका कारण करिब एक वर्ष कामै हुन सकेन । आयोजना क्षेत्रभित्र पर्ने रुख र विद्युतका पोलहरु नहटाइ ठेक्का लगाइएको थियो । राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि वन विभाग र प्राधिकरणले सहजीकरण नगरिदिँदा चिनियाँ कम्पनीले कामै सुरु गर्न सकेका थिएनन् ।
साइटमा खडा गरेका क्याम्पमा ठुला ठुला इक्विपमेन्ट र निर्माण सामाग्रीहरु ल्याइए पनि काम गर्ने साइट क्लियर नहुँदा थन्क्याएर राख्नुपरेको थियो । अहिले भने दुवै निकायबाट सहजीकरण पाएका कारण काम सुरु भएको आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए ।
उनका अनुसार, महामारी नभएको भए अहिले तीव्र गतिमा काम भइरहेको हुने थियो। साइटको समस्या हल हुने बित्तिकै कोरोना महामारी सुरु भएको थियो ।
अहिले निर्माण कम्पनीले आयोजनाको सहजीकरण र सम्बन्धित निकायको रेखदेखमा रुख कटानको जिम्मा दिइएको छ । अहिले निर्माण कम्पनी आफैंले द्रुत गतिमा रुख कटानको काम गरिरहेको छ ।
राजमार्गको सिमांकनमा साना–ठुला गरि करिब ३० हजार रुखहरु पर्छन् । जसमा साढे ६ हजार कटान भइसकेको छ । बाँकी कटान जारी छ । मध्यवर्ती क्षेत्रमा पर्ने रूखहरू पनि कटानका लागि मन्त्रिपरिषदले स्वीकृति दिइसकेको आयोजनाले जनाएको छ ।
इन्जिनियर आचार्यका अनुसार, विद्युतका पोलहरु सार्ने काम पनि निर्माण कम्पनीलाई जिम्मा दिने अन्तिम तयारी भएको छ । उसले कहाँ कहाँ काम गर्ने त्यहीँका पोल सार्दै काम गर्नेछ ।
त्यसमा नेपाल विद्युत प्राधिकरण र आयोजनाको समन्वय हुनेछ । ‘हाम्रो भूमिका सहजीकरणको मात्रै हो । काम गर्ने होइन,’ आचार्यले भने, ‘ठेकेदार कम्पनी चिनियाँ छ, परामर्शदाता कोरियन। चिनियाँ कम्पनीलाई कोरियन कम्पनीले काम लगाउने हो,’ उनले भने ।
आयोजनाका अनुसार, अहिले साइटमा ६५ जना प्राविधिकसहितको समूह खटिएको छ । १५० हाराहारी कामदार छन् । आवश्यकता अनुसार कामदार थपघट गरिँदै आएको छ । दुई ठुला पुल, साना पुल. साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, कटान, सानातिना संरचना निर्माण, रुख कटान लगायतका कामहरु भइरहेका छन् ।







