डिसेम्बरमा अमेरिकी नागरिकले कोरोना विरुद्धको खोप पाउने

मंसिर ८, काठमाडौं ।
कोभिड–१९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएको बिबिसीले जनाएको छ ।

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना रहेको जानकारी दिएका छन् । देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन् ।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको बिबिसिको रिपोर्टमा उल्लेख छ । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो ।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी–सेलहरू आफै बनाउँछ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ ।

रिपोर्ट अनुसार खोप दिँदा कस्तालाई प्राथमिकता दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ ।

अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ । आउने केही साताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ ।