सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने रावलको भनाइ

मंसिर ८, धनगढी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

आइतबार धनगढीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भदौ २६ गतेको स्थायी कमिटी बैठकले सङ्घीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको बताएका हुन् ।

‘भदौ २६ को स्थायी कमिटीको बैठकबाट प्रदेश सरकार र संघीय सरकार हेरफेर गर्ने निर्णय भएको छ । कहाँ कहाँको सरकारको केके मूल्यांकन गर्ने, त्यहाँ के के फेरबदल गर्नुपर्ने आश्यकता छ तदनुकुल गर्ने भन्ने कुरा त प्रष्ट हो नि,’ उनले भने, ‘तर त्यो विषयलाई कार्यान्वयन गर्नका लागि जसरी थप अगाडि छलफल र बैठक गर्नुपथ्र्यो, त्यो नगरेकोमा हाम्रो आपत्ति हो ।’

सरकार हेरफेर गर्न आवश्यक थिएन भने किन निर्णय गरेको र दुई अध्यक्षले किन अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको भनी रावलले प्रश्न गरेका छन् ।

‘तीन वर्ष बित्दाखेरि अब सरकारको समीक्षा गरेर यसलाई बाँकी दुई वर्षको अवधिमा प्रभावकारी बनाउन विभिन्न जनशक्तिको विन्यास गर्दाखेरि पनि कसरी जाने भन्ने प्रसंगको कुरा हो । पार्टीले निर्णय गरिसकेको हुनाले निर्णय कार्यान्वयन गर्ने हो भने विल्कुल अगाडि बढ्नुपर्छ । त्यतातर्फ सोच्नुपर्छ’ उनले भने ।

भागबन्डामा नभई आवश्यकतामा सरकार फेरबदलको निर्णय गरिएको बताउँदै नेता रावलले उक्त निर्णय कार्यान्वयन नभएको आपत्ति जनाए । ‘३ वर्ष बित्दा सरकारको समीक्षा गरेर बाँकी २ वर्षमा अगाडि कसरी बढाउने भन्ने बिषयले सरकार फेरबदल गर्ने भनिएको हो । भागबन्डाका लागि होइन’ उनले भने, ‘तर, त्यो विषय कार्यान्वयन प्रक्रिया अघि नबढेको विषयमा हाम्रो आपत्ति छ ।’