सरिता गिरीको संविधान संशोधन प्रस्ताव दर्ता, फिर्ता नलिए पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छिन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

लगत्तै, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका थिए ।

तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।