मंसिर १३, काठमाडौं ।
इरानी सेनाले आफ्ना वैज्ञानिकको हत्याको बदला लिने भन्दै चेतावनी दिएको छ । इरानको रक्षा मन्त्रालयले यस्तो बताएको बिबिसीले जनाएको छ ।
आफ्ना वरिष्ठ परमाणु वैज्ञानिक मोहसीन फखरीजादेहको हत्या भएको छ । प्राप्त जानकारीअनुसार राजधानी तेहरान नजिकैको अबसार्ड सहरमा ती वैज्ञानिकमाथि आक्रमण भएको थियो ।
इरानको रक्षा मन्त्रालयका अनुसार उनीमाथि केही हतियारधारी व्यक्तिले आक्रमण गरेका थिए । उनी सवार कारलाई निशाना बनाइएको थियो । आतंकवादी र मोहसीनका अंगरक्षकबीच केहीबेर भिडन्त भएको पनि बताइएको छ ।
उनलाई स्थानीय अस्पतालमा लगे पनि उनको ज्यान बचाउन सकिएको थिएन । इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफले यसलाई ‘राज्य प्रायोजित आतंकको घटना’ भनेका छन् ।
पश्चिमी मुलुकका गुप्तचर निकायले इरानले परमाणु शक्ति हासिल गर्नुमा मोहसीनकै हात रहेको बताउँदै आएका थिए । उनलाई ‘इरानी परमाणु बमका पिता’ समेत भनिन्थ्यो ।
सन् २०१० र २०१२ को बीचमा इरानका चार परमाणु वैज्ञानिकको हत्या भएको थियो । इरानले यसको आरोप इजराइलमाथि लगाउने गरेको छ ।







