वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी सोयाबिन तेल निर्यात

मंसिर १३, काठमाडौं ।
वीरगंज भन्सार नाकाबाट निकासी हुने सूचीको पहिलो नम्बरमा परेको छ, प्रशोधित सोयाविन तेल । गत वर्ष पहिलो सूचीमा थियो पाम तेल ।

गत वैशाखमा भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाममा प्रतिबन्ध लागेपछि वीरगंज–पथलैयाका तेल उद्योग सोयाविन तेल निकासीमा लागेका छन् । वीरगंज नाकाबाट चालु आवको साउनदेखि कात्तिक सम्म पोहोरको तुलनामा पाँच गुणाले सोयाविन तेलको निकासी बढेको वीरगंज भन्सारले जनाएको छ ।

भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालु आवको प्रथम चौमासमा ६ अर्ब ८३ करोड मूल्य बराबरको ४८ हजार २ सय ८१ टन सोयाबिन तेल भारत निकासी भएको छ । गत आव २०७६र७७ को सोही अवधिमा १ अर्ब ३३ करोडको १० हजार ५ सय १९ टन प्रशोधित सोयाविन तेल निर्यात भएको थियो । सबैभन्दा बढी सोयाविन तेल निकासी गर्ने नाका वीरगंज नै बनेको छ ।

गत आवमा नेपालबाट १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । निकासी भएको मध्ये वीरगंजबाट मात्रै ११ अर्ब ७२ करोडको निकासी भएको साहले बताए ।

अहिले १४ वटा तेल उद्योगले तेल निकासी गरिरहेका छन् । पाम आयलको निर्यात बन्द भएपछि वीरगंजको निम्बस, ओसिबी, अन्नपूर्ण भेजिटेबल्स एण्ड सप, नारायणी आयल रिफाइनरी, शिव शक्ति, गणपति, मुक्ति आयल लगायत उद्योगहरुले भटमासको सोयाविन तेल निकासी गरेका छन् ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने,‘पाम आयलको कारोबार बन्द भएपछि सोयाविन तेल निकासीले वीरगंजको तेल उद्योगीलाई राहत दिएको छ ।’

वीरगंजका उद्योगीहरु विदेशबाट किनेर ल्याएको अर्ध प्रशोधित कच्चा तेल(क्रुड आयल)मा प्रशोधन गरी करिब ३० प्रतिशत भ्याट गरेर शून्य भन्सारमा यो तेल भारतको बिहार र उत्तरप्रदेश लगायत विभिन्न राज्यमा निर्यात भइरहेको बताउँछन् ।

भारतले सार्क मुलुक बाहेक विदेशबाट आयात गर्ने सोयाविन तेलमा साढे ३७ प्रतिशत भन्सार महसुल र तयारीमा ४५ प्रतिशत आयात शुल्क लाग्छ । भारतले आफ्नो तेल उद्योग र किसानलाई संरक्षण गर्ने उदेश्य अनुसार साफ्टा सम्झौता अनुसार नेपालबाट सोयाविन तेल आयात गरिरहेको छ भने विदेशबाट आयातमा उच्च आयात शुल्क राखेको छ ।

नेपालका उद्योगीले भटमासको कच्चा तेल आयात गर्दा जम्मा १० प्रतिशत भन्सार शुल्क तिर्नु पर्छ । उद्योगीले अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेशिया लगायतका देशबाट भटमासको अर्ध प्रशोधित तेल ल्याउँछन् ।

भारतमा सोयाविन तेलको निर्यात बढेसँगै आयातमा पनि वृद्धि भएको छ । पछिल्लो ४ महिनामा विदेशबाट भटमासको कच्चा तेल करिब ७ अर्ब ४४ कराडको तेल आयात भएको छ ।