मंसिर १४, काठमाडौं ।
अस्ट्रेलियाको राजधानी सिड्नीमा नोभेम्बर महिनाको रात्रिकालीन न्यूनतम तापक्रम सर्वाधिक मापन गरिएको छ ।
अभिलेख राख्न थालिएयता पहिलो पटक अस्ट्रेलियाको उक्त महानगरमा रातिको तापक्रम २५.४ डिग्री सेल्सियस पुगेको बिबिसीले जनाएको छ । आइतवार दिउँसो त्यहाँको तापक्रम ४० डिग्री सेल्सीअस पुग्ने पूर्वानुमान छ ।
गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ ।
सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको बिबिसीको रिपोर्टमा उल्लेख छ ।
सिड्नीमा प्रचण्ड गर्मी हुन थालेपछि मानिसहरू समुद्री तटमा भेला भएको देखिन्छ ।
भिडभाड गर्दा कोरोनाभाइरस फैलिन सक्ने भएकाले राज्यको स्वास्थ्य विभागले मानिसहरूलाई भौतिक दूरीसम्बन्धी नियम पालना गर्न सचेत गराएको छ ।
अस्ट्रेलियाको मौसम हेर्ने निकायले दक्षिणी न्यू साउथ वेल्स र दक्षिणपूर्वी क्वीन्सल्यान्डका केही भागमा पाँच–छ दिन प्रचण्ड गर्मी भई उष्ण लहर फैलिन सक्ने पूर्वानुमान गरेको छ ।
आगलागीको डर
रुरल फायर सर्भिसले पनि न्यू साउथ वेल्स राज्यका पूर्वी र पूर्वोत्तर क्षेत्रहरूमा आगलागी हुनसक्ने चेतावनी दिएको छ ।
अहिले उक्त राज्यका ४५ वटाजति स्थानमा डढेलो लागेको पत्ता लागेको छ । एउटा आगोले भने सिड्नीबाट पश्चिमतिर केही घरहरूमा खतरा हुने देखिएको छ ।
शुक्रवार अग्निशमन सेवाका सहायक आयुक्तले सर्वसाधारणलाई आगलागी भयो भने के गर्ने भनेर आफू तयार हुन आग्रह गरेका थिए ।
गत वर्षको विनाश सम्झिँदै उनले यसपालि पहिलो पटक आगलागीको व्यापक खतरा भएको बताए ।
सन् २०१९–२० को गर्मी याममा अस्ट्रेलियामा २.४ करोड हेक्टर जमिनमा डढेलो फैलिएको थियो । त्यसलाई अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा सघन डढेलो मानिएको थियो ।
आगलागी र डढेलोले प्रायः सबै राज्य पीडित भएका थिए । तीन हजारभन्दा बढी घर जल्दा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो ।
डढेलोले झन्डै तीन अर्ब पशुपक्षीको ज्यान लिएको वा विस्थापित गराएको बताइन्छ ।







