बुद्ध एयरको माउन्टेन फ्लाइट आगामी सातादेखि सुचारु हुने

मंसिर १४, काठमाडौं ।
बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ । आठ महिनापछि सुरु गर्न लागेको पर्वतीय उडान पर्यटन क्षेत्रलाई टेवा दिने उद्देश्यले सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।

यो उडानको एउटा टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क पाइने अफर ल्याइएको छ । आगामी शनिबार (डिसेम्बर ५) देखि माउन्टेन फ्लाइट सेवा पुनः सुरु गर्न लागेको हो ।

‘हामीले करिब करिब पहिलाकै भाडादरमा (प्रति व्यक्ति) यो अफर ल्याएका हौं । प्रत्येक शनिबार सेवा दिन्छौं,’ कम्पनीका प्रवक्ता रुपेश जोशीले भने, ’शनिबार साप्ताहिक बिदा हुने भएकाले घुम्न चाहनेहरू फुर्सदिला हुन्छन् । त्यसैले पर्वतीय उडान गर्न रुचाउनेहरूलाई अवसर पनि हुन्छ । सुरक्षित रुपमा रिफ्रेस हुन चाहनेलाई ध्यानमा राख्दै यो योजना ल्याइएको हो ।’

बन्दाबन्दी हुनु अघि कम्पनीले माउन्टेन फ्लाइटका लागि प्रति यात्रु १० हजार तीन सय रुपैयाँ लिँदै आएको थियो । यसपटक अफरले यात्रुलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बेस रहेर करिब एक घण्टाको यो उडानमार्फत यात्रुले सगरमाथा, मकालु, गौरीशंकर लगायतका विभिन्न हिमश्रृंखलाको दृश्यालोकन गर्न सक्ने कम्पनीले जनाएको छ । पर्वतारोहण र हिमाल आरोहण गर्न नसक्ने वा समय व्यवस्थापन गर्न नसक्नेहरू यस्ता उडानमा सहभागी हुन्छन् ।

कम्पनीका अनुसार माउन्टेन फ्लाइटका लागि आठ हजार नौ सय रुपैयाँ भाडादर कायम गरिएको छ । ‘यो भाडादरमा ग्राहकले दुई वटा सिट (झ्याल सहित र झ्याल विनाको सिट) प्राप्त गर्न सक्नुहुनेछ । यो योजनाले हिमश्रृङ्खला दृश्यावलोकनका साथै पर्यटन प्रवर्द्धन हुने आशा लिएका छौं,’ जोशीले भने । कम्पनीका अनुसार यो अफरको योजना नेपाली नागरिकका लागि मात्रै लागू हुनेछ ।