छोरीको प्रेम सम्बन्ध तोडाउन अढाइ लाख तिरेर बुवाले गराए हत्या

मंसिर १५, रौतहट ।
जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहाकी १७ वर्षियाा अमृताकुमारी साहको हत्या उनको प्रेम सम्बन्ध छुटाउन भएको अनुसन्धानबाट खुलेको छ । उनकै बाबुले साढे दुई लाख रुपैयाँ खर्चिएर अमृताको हत्या गराएको गराएको देखिएको छ ।

अमृताको २६ कात्तिकमा सुतिरहेको अवस्थामा दाहिने कञ्चटमा गोली हानेर हत्या भएको थियो । तीन साता लगाएर घटनाको अनुसन्धान गरेको प्रहरीले साहको हत्यामा अभिभावककै संलग्नता रहेको निश्कर्ष निकालेको छ ।

प्रहरीले मृतकका बुबा रामअयोध्या साह, आमा सीतादेवीका साथै परोहा–४ का छोटेलाल साह, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

अभियुक्तहरुले बताएअनुसार मृतक अमृताको आफ्नै गाउँका थारु भनिने सोसिन्द्र भगतसँग प्रेम सम्बन्ध थियो । तर जात नमिल्ने केटासँग प्रेम गरेको भन्दै अभिभावकले २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग अमृताको विवाह गराइदिए ।

बिहेको चौथो दिनमै रुपेशमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेशले उपचारपछि २०७७ साउन २५ गते अमृतासँग सम्बन्ध विच्छेद गरे ।

सम्बन्ध विच्छेदपछि उनले अमृता र उनको प्रेमीसमेत रहेका सोसिन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दिएका थिए ।

दोस्रो प्रयासमा हत्या
प्रहरीका अनुसार छोरी पक्राउ परे वा प्रेमीसँग भागेर गए पनि इज्जत जाने, घरमै राख्दा गाउँलेले कुरा काट्ने डरले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही–२ का लक्ष्मण साहले हत्याको योजना बनाएको देखिन्छ ।

अृमतालाई मार्न रामअयोध्याले पहिलो पटक परोहा–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिए । अमृतालाई भारतमा लगेर हत्या गर्नुपर्ने शर्त थियो ।

योजना अनुरुप कात्तिक ९ गते महानवमीका दिन अमृतालाई उपचारको बाहनामा भारत लैजाने र उतै हत्या गर्ने उनीहरुको योजना थियो । तर भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा योजना असफल भयो र अमृता पुनः घर आइपुगिन् ।

पहिलो प्रयास असफल भएपछि बुबा रामअयोध्याले देवाही गोनाही–२ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैयाँको सुपारी दिए । कैमुलले २६ कात्तिकको राति बहुदल भन्ने इस्लाम अन्सारी, शेख अलियास र शेख इम्ताजलाई लिएर गए ।

अलियास र इम्ताजले आमा सीता देवीलाई घर पछाडि नियन्त्रणमा राखे भने कैमुल र बहुदलले अमृतालाई गोली हानेको पाइएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

सीताको बाध्यता : श्रीमान रोज्दा छोरी गुमाइन्
सीतालाई छोरीको हत्या गर्ने योजनाबारे पूर्व जानकारी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘रामअयोध्याले पत्नी सीतादेवीलाई आफू वा छोरीमध्ये एक रोज्न लगाएको देखिन्छ,’ उपरीक्षक शाहले भने, ‘छोरीका कारण बदनाम भए आफू झुण्डिएर मर्ने वा छोरीलाई मार्नेमध्ये एक रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको देखिन्छ ।’

उनले श्रीमान रोजिन् र घटना हुने रात गोली हान्ने समूहलाई घरमा प्रवेश गराउन भूमिका खेलिन् । उनले त्यो दिन छोरी अमृतालाई आफूसँग सुत्न लगाइन् र राति ढोका खुल्ला राखिन् ।

हत्या गर्न चारमध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडि लगेर राखे भने कोठाभित्र प्रवेश गरेका दुई जनाले अमृतालाई गोली हानेको अभियुक्तहरुले स्वीकार गरेको उपरीक्षक शाहले बताए ।

सात जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।