मंसिर १५, काठमाडौं ।
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिएका छन् ।
कोभिड–१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताएका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भनेका छन्, ‘कोरोना महामारीविरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न तयार छ ।’
यद्यपि सहयोग कस्तो किसिमको हुने भन्नेबारे खुलाइएको छैन । सहयोगबारे सैनिक सहचारीस्तरमा छलफल भएर निर्णय हुने जंगीअड्डाका एक सैन्य अधिकारीले बताए ।
भेटवार्ताका क्रममा यसअघि घोषित ३ सय मिलियन आरएनबी सैन्य सहयोगको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १ सय ५० मिलियन आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो ।
त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १ सय ५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो ।
तर कोरोना महामारीका कारण सहयोग प्रभावित भएको थियो ।
यसअघि सेनाले चीनबाट औषधि खरिदको जिम्मेवारी पाएका वेला पूर्वघोषित सहयोगकै रकमबाट सामग्री ल्याउन खोजिएको थियो । यद्यपि, तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको बताउँदै सैन्य सहयोगलाई प्रयोग नगर्न भनेका थिए ।
पूर्वघोषित सहयोगलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने आश्वसन फेङ्हेले नेपाली पक्षलाई जानकारी दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कोरोना महामारीकै कारण चिनियाँ जनमुक्ति सेनासँग ०७४ सालदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप’ पनि रोकिएको थियो । त्यसलाई सुचारु गर्ने विषयमा पनि रक्षामन्त्री फेङहेसँग छलफल भएको जंगीअड्डाले जनाएको छ ।
०७४ सालमा पहिलो पटक चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएपछि यो अभ्यासको सुरुवात भएको थियो । चीनसँगको यो अभ्यासलाई लिएर भारतका सैन्य अधिकारीहरुले नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याउने गरेका छन् ।
महामारीका कारण रोकिएका अन्य तालिमलाई क्रमशः सुरु गर्दै लैजाने आश्वसन चिनियाँ रक्षामन्त्रीले दिएका छन् ।







