मंसिर १५, हुम्ला ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ ।
चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो ।
मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिइन् ।
आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले बताइन् ।
याल्वाङमा कोरोना सङ्क्रमण लक्षणका बिरामी नभएपछि आइतबारबाट यो सङ्क्रमण बिरामी शून्य बनेको याल्वाङ स्वास्थ्यचौकीका इञ्चार्ज ग्याछु लामाले जानकारी दिए । आइतबार डिस्र्जाच भएका ५४ जनाको सम्पर्कमा आएका कोही कसैमा यो सङ्क्रमणको लक्षण नदेखिएको र यदि देखिएमा परीक्षणको दायरालाई बढाउने लामाको भनाइ छ ।
केही दिन अगाडि वडा नं ४ को ठूलो जनसङ्ख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो । महाबौद्ध याल्वाङका तीन कर्मचारी र ३२ विद्यार्थीसहित ३५ सङ्क्रमित तथा धार्मिक विद्यालय गुम्बाका १९ विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् । दुई कोरोना सङ्क्रमितलाई काठमाडौँ लगिएको छ ।
उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो । कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको सङ्क्रमण फैलिएर ५६ जनामा सरेको थियो ।
हुम्लामा पहिलोपटक असोज ३ गते यो सङ्क्रमण देखिएको थियो । हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन् । (रासस)







