मंसिर १५, काठमाडौं ।
हालै निधन भएका अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनामाथि लापरवाहीको आरोप लागेको छ । उनको क्लिनिकमा प्रहरीले छापा मारेको बिबिसीले जनाएको छ ।
म्याराडोनाको मृत्युको चार दिनपछि डाक्टर लियोपोल्डो लुकको क्लिनिकमा छापा मारिएको हो । उनका छोरीहरूले आफ्ना पिताको मृत्युबारे विस्तृत जानकारी माग गरेका छन् । उनीहरूले पिताको मृत्युमाथि प्रश्न उठाउँदै मिडियामा बयान दिएका थिए ।
आइतबार बिहान ३० जना प्रहरी लुकको घर र अन्य २० प्रहरीले उनको क्लिनकमा छापा मारेका थिए । त्यहाँबाट कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले रिपोर्टमा उल्लेख गरेको छ ।
२५ नोभेम्बरका दिन ६० वर्षको उमेरमा म्याराडोनाको आफ्नै घरमा हृदयघातबाट मृत्यु भएको थियो । मृत्यु हुनु केही अघि मात्रै उनको मष्तिष्कको शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनले पर्याप्त मेडिकल सेवा नपाएको उनका छोरीहरूको आरोप छ ।







