क्लिनफिड लागू भएको डेढ महिनापछि बल्ला अनुगमन कार्यविधि पारित गर्ने तयारी

मंसिर १६, काठमाडौं ।
विज्ञापन बोर्डले क्लिनफिड कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष अनुगमन कार्यविधि पेश गरेको छ ।

क्लिनफिड कार्यान्वयनको अनुगमन निकै फितलो भएको भन्दै आलोचना भइरहेका बेला सरकार बोर्डलाई बल्ल पूर्णता दिँदै छ । गत वर्ष कात्तिकमै क्लिनफिड लागू गर्ने कानूनी आधार तयार गरेको सरकार क्लिनफिड कार्यान्वयन भएको डेढ महिना पुग्नै लाग्दा पनि अनुगमन संयन्त्र विस्तार गर्ने कसरत गरिरहेको छ ।

क्लिनफिड लागू भएपनि बेलाबेला नेपालीसँगै विदेशी टेलिभिजनहरुमा विदेशी तथा डबिङ गरिएका विज्ञापन प्रसारण भइरहेका छन् । सरकारले तामझाम र कठोर रुपमा क्लिनफिड लागू गर्ने नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याए पनि अनुगमन कार्य प्रभावकारी बन्न सकेको छैन ।

सरकारले सकभर छिटो क्लिनफिड अनुगमनसम्बन्धी कार्यविधि पारित गर्ने तयारी गरिरहेको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए ।

कार्यविधीले बोर्डअन्तर्गत प्राविधिक समिति, निर्देशक समिति र रायसुझावका लागि सरोकारवालाहरुसहितको समिति रहने व्यवस्था गर्ने शर्माले बताए । सरकारले यसअघि नै मन्त्रालयका तात्कालीन सहसचिव गोकर्णमणि दवाडीको अध्यक्षतामा रायसुझाव समिति गठन गरिसकेको छ ।

केही दिन भित्रै समितिको पहिलो बैठक बस्ने तयारी भइरहेको बोर्डले जनाएको छ । उक्त समितिले क्लिनफिड कार्यान्वयनबाट सिर्जित समस्याहरु समाधान गर्ने बताइएको छ ।

उपभोक्ताहरुले क्लिनफिडका कारण रोकिएका च्यानलको पैसा तिर्नुपर्ने अवस्था आएको भन्दै आक्रोश पोखिरहेका छन् । यस्तै, आउँदै नआउने च्यानलसमेतको पैसा तिर्नुपर्ने भएपछि सेटअप बक्स रिचार्ज गराउनेको संख्या आधाले घटेको टेलिभिजन अपरेटहरुले जनाएका छन् ।

टेलिभिजन अपरेटरहरुले च्यानलको संख्यामा उल्लेख्य कमी आएपनि शुल्कमा हेरेफेर भने गरेका छैनन् ।

कानुन विपरित प्रसारण भइरहेका विज्ञापनबारे आफुहरुको नोटिसमै रहेको बोर्डका अध्यक्ष शर्माले स्वीकार गरे । क्लिनफिड कार्यान्वयन सुरुआती चरणमै रहेकाले कानून विपरितका प्रसारण विस्तारै रोक्दै र सुधार गर्दै जाने उनले जिकिर गरे ।

सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, विज्ञापन नियमावलीलाई आधार बनाएर बोर्डलाई व्यवस्थित र प्रभावकारी बनाउने काम गरिरहेको जनाएको छ ।