उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

मंसिर १६, अछाम ।
उच्च रक्तस्रावका कारण अछाममा एक सुत्केरीको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।

सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण सोमबार राति मृत्यु भएको थियो ।

जिल्ला अस्पताल अछामका अनुसार रक्तस्राव निकै बढी भएको तर अस्पताल ल्याउन ढिला हुँदा उनको ज्यान गएको हो । उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।