पाल्पा र स्याङ्जाका दुई संक्रमितको ज्यान गयो

मंसिर १७, पाल्पा ।
पाल्पा र स्याङजाका थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।