पौडेललाई प्रहरीले नियन्त्रामा लिएपछि देउवाको यस्तो चेतावनी – ‘सशक्त प्रतिवाद गर्छौं’

मंसिर, १७ काठमाडौं । तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न सरकारसँग मागसमेत गरेका छन् ।

नेता पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै एक विज्ञप्ति जारी गर्दै देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

उनले थपेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।