मंसिर १९, काठमाडौं ।
अमेरिकाका वरिष्ठ गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन ‘प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’ भएको बताएका छन् ।
द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका हुन् ।
बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार चिनियाँ सामानमाथि शुल्क थप्दै ट्रम्प प्रशासनले चीनप्रति कडा नीति अवलम्बन गरेको छ तथा बौद्धिक सम्पत्ति चोरी गरेको बेइजिङमाथि आरोप लगाउने गरेको छ ।
यता, चीनले पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।
यद्यपि आफ्ना सामानमाथि शुल्क लगाउने र अमेरिकी बजारबाट आफ्नो दूरसञ्चार कम्पनी ह्वावेईलाई टाढा राख्ने अमेरिकी प्रयासप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।
बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि हावी हुन खोजिरहेको र्याटक्लिफले बताएका छन् ।







