सुर्खेत विमानस्थल स्तरोन्नतिको तयारी

मंसिर २१, सुर्खेत ।
संघीय राजधानीसँग सिधा जोडिएको प्रदेशको एक मात्रै सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटे जहाज बाहेक ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन् ।

सोही अनुरुप प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतिका लागि भएको सम्झौता अनुसार करिब तीन सय मिटर धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिइसकेको छ । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि करिब ३० बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएको हो ।

‘नेपाल सरकार र प्रदेश सरकाबीच भएको एमओई अनुसार जग्गा अधिग्रहणका लागि अनुमति पाएको भन्ने खबर छ,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले भने, ‘अहिलेको विमानस्थलको उत्तर, दक्षिण, पूर्व, पश्चिम के कति जग्गा अधिग्रहण गर्ने त्यो प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर टुंगो लगाउला ।’

२०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको लम्बाई एक हजार मिटरको थियो भने ६ वर्षअघि मात्रै दुई सय ५५ मिटर विस्तार गरी एक हजार दुई सय ५५ मिटर पुर्याइएको हो ।

संघीय र प्रदेश सरकारबीच भएको सहमति अनुसार विमानस्थल विस्तार भए दोस्रो पटक हुने छ । दोस्रो पटक विस्तारका लागि करिब करिब निश्चित भइसकेको छ ।

मुआब्जा वितरणका लागि प्रदेश र संघीय सरकारले ५०–५० प्रतिशत खर्चिने छन् भने आवश्यक बजेट दुवै तहका सरकारले थप गर्ने छन् । धावनमार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ चार सय ६० मिटर, दक्षिणतर्फ करिब दुई सय मिटर र चौडाईतर्फ एक सय ६० मिटर क्षेत्र गरी करिब ३० बिघा जग्गा अधिग्रहण गर्न सकिने प्रारम्भिक निष्कर्ष रहेको छ ।

यद्यपि प्राविधिक सहितको टोलीले विस्तृत अध्ययन गर्नेछ । एक हजार दुई सय ५५ मिटर रहेको धावनमार्ग अब १५ सय मिटरसम्म विस्तार भए ७२ सिटे ठूला जहाज उडान र अवतरण हुने छन् ।

दक्षिणतर्फ रत्नराजमार्ग र कांक्रेविहार डाँडा छ भने उत्तरतर्फ विद्यालयसहित बाक्लो बस्ती र अग्लो पहाड छ । त्यसैले अवतरण हुने र उडान भर्ने ठूला जहाजले पूरा भारी बोक्न सक्ने या नसक्ने लगायतको विषयमा विस्तृत अध्ययन गरेर मात्रै विमानस्थलको विस्तार गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

‘करिव दुई–तीन सय मिटर धावन मार्ग विस्तार भए एट्टिआर ७२ जहाजहरु ल्याण्ड गर्न र उड्न त सक्छन्,’ नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले भने, ‘विमानस्थलको उत्तरमा पहाड र दक्षिणतर्फपनि कांक्रेविहारको डाँडा भएकाले ती आउने जहाजहरुले क्षमता अनुसार भारी बोकेर अवतरण र उड्न सक्छन् कि सक्दैनन् भनेर अध्ययन हुन जरुरी छ ।’

विमानस्थल साँघुरो हुँदा ठूला जहाज उडान र अवतरण गर्न नसक्दा सुर्खेत–काठमाडौं भाडा दर असाध्यै महँगो छ भने दैनिक एउटा मात्रै फ्लाइट हुँदा कर्णालीका नागरिकलाई अर्काे प्रदेश पुग्नुपर्ने बाध्यता छ ।

प्रमुख पन्थीका अनुसार यहाँ तत्कालको प्राथमिकता भनेको २४ सै घण्टा र प्रतिकूल मौसममा पनि चल्न सक्ने बनाउनु हो । ‘अहिले तत्कालको प्राथमिकता भनेको विमानस्थल चौबीसै घण्टा र प्रतिकूल मौसममा पनि चल्न सक्ने बनाउनु हो’, उनले भने, ‘त्यसो भयो भने ८० प्रतिशत समस्या हल हुन्छ ।’

‘विमानस्थल स्तरोन्नति हुनु कर्णालीका नागरिकका लागि एकदमै राम्रो पक्ष हो’, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने, ‘दुवै तहका सरकारले यथाशीघ्र विमानस्थल विस्तार र स्तरोन्नतिको काम अघि बढाउनुपर्छ । निजी क्षेत्र र नागरिकको तर्फबाट सक्दो सहयोग गर्न हामी तयार छौं ।’