मंसिर २१, काठमाडौं ।
नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजलाई हङकङ उडानमा फेरि प्रतिबन्ध लागेको छ ।
नेपालबाट हङकङ अवतरण बएका यात्रुको कोभिड जाँचको रिपोर्टमा कैफियत देखिएपछि हङकङले १५ दिनका लागि बन्देज गरेको हो । यसअघि तीनपटक यस्तै घटनामा नेवानि तीनपटक परिसकेको छ ।
बन्देज लाग्दै खुल्दै गरेपछि नेवानिले आफ्नो उडानबाट हङकङ जाने यात्रुलाई सरकारी प्रयोगशालामा जँचाएको रिपोर्ट अनिवार्य गरेको थियो ।
यसपटक नेपालका सरकारी प्रयोगशालाकै रिपोर्ट हङकङमा पुनः जाँचका क्रममा फरक परेपछि नेवानि कारबाहीमा परेको हो । यसपटक पाँच यात्रुको रिपोर्ट पोजेटिभ र एक जनाको शंकास्पद देखिएको छ ।
‘प्रयोगशालाको रिपोर्टमा पटक पटक कैफियत देखिन थालेपछि आज पुनः छलफल गर्न लागिएको छ,’ निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘पटक पटक यस्तो घटना भइरहेकाले निगम गम्भीर छ ।’
कोभिड परीक्षण विवरणमा चुकेर तीन पटकसम्म प्रतिबन्ध लगाइएपछि गत सोमबार (३० तारिख) नेवानिले पुनः उडान गरेको थियो । यसअघि निगममार्फत हङकङ जाने यात्रुले ह्याम्स र स्टार लगायत निजी अस्पतालको प्रयोशालामा कोभिड–१९ को परीक्षण गराउँदे आएका थिए ।
निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि निगमले यात्रुलाई सरकारीमा परीक्षण गराएको रिपोर्ट ल्याएमात्रै उडानमा सहभागी गराउने भएको थियो ।
हङकङले नेपाली ध्वजावाहकलाई उडानमा बन्देज गर्दा मुलुककै प्रतिष्ठामा आघात परेको भन्दै नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्रालयसँग गलत रिपोर्ट दिने प्रयोगशालामाथि कारबाही किन नगर्ने भन्ने प्रश्न उठाएको थियो ।
सुरुमा उडानमा चार जनामा संक्रमण पुष्टि भएपछि हङकङले नेवानिलाई अक्टोबर ४ देखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो । उडानमा संक्रमित संख्या बढेर नौ जना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ नोभेम्बर ४ सम्म फेरि प्रतिबन्ध लगाएको थियो ।
यसपछि पनि एक साताकै अन्तरालमा भएको काठमाडौं–हङकङ उडानमा १४ जना संक्रमित पुष्टि भएका थियो । जसका कारण हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।
अन्तर्राष्ट्रिय उडान खुला भएसँगै निगमले काठमाडौं–हङकङतर्फ साताको एउटा उडान गर्दै आएको जनाएको छ ।







