एक तिहाई सांसदको उपस्थितिमा संसद चलाउने प्रस्ताव

मंसिर, २८ काठमाडौं । एक तिहाई सांसदको उपस्थितिमा संघीय संसदको हिउँदे चलाउने प्रस्तावमाथि छलफल सुरु भएको छ । तर, टुङ्गो लाग्न नसकेको संसद सचिवालय र राजनीतिक दलका नेताहरुले बताएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘एक तिहाई सांसदको उपस्थितिमा संसद चलाउने विषयमा अनौपचारिक छलफल भइरहेको छ तर, टुंगो लागेको छैन् ।’

स्रोतका अनुसार संसद सचिवालयले नै एक तिहाई सांसदको उपस्थितिमा संसदको हिउँदे अधिवेशन चलाउने प्रस्ताव गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई ख्याल गरेर यस्तो प्रस्ताव गरिएको सचिवालयका कर्मचारीहरु बताउँछन् ।

तर, यो विषयमा राजनीतिक दलहरु सहमत हुन नसक्दा निर्णय हुन सकेको छैन् । संघीय संसदका एक पदाधिकारीले भने, ‘अधिकांस सांसदहरु तयार नभएपछि दलले निर्णय लिएका छैनन् । त्यसकारण यो विकल्पमाथिको छलफल छलफलमै छ ।’

बिभिन्न देशले एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाएको उदाहरण छ । वेलायतले सुरुमा यस्तै अभ्यास गरेको थियो । ‘नेपालमा पनि सबै दलबाट एक तिहाई उपस्थित हुँदा कोरम पुग्ने र कोभिड रोकथामका दृष्टिले सहज हुने भन्ने हो’ एक नेताले भने ।

तर, सांसदहरुले नमान्दा यो विषय छलफलमै रुमल्लिएको छ । सांसदहरुले नमाने सम्बन्धित दलले ह्वीप लगाएर निर्णय लिन सक्ने बताउँछन् संविधान सभा सदस्य जनकराज जोशी ।

‘एक तिहाई उपस्थितिमा संसद चलाउँदा सहज हुन्छ भने दलहरुले ह्वीप लगाउन सक्छन् । ह्वीप लगाउने अभ्यास छ । मै कैयौंपटक ह्वीपको सिकार भएको थिएँ’ जोशीले ‘कोभिड–१९ महामारीमा संसद सञ्चालन’ सम्बन्धी एक अन्र्तक्रियामत्मक कार्यक्रममा भने ।