मंसिर, २८ मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे।
उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे । “बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्”, उनले भने ।
अर्को प्रसङ्गमा उहाँले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्र्सना गरे । पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे। संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे।







