अर्थमन्त्री किरण गुरुङद्धारा पोखरा हिमालयन मीट्सको अवलोकन

पोखरा, मंसिर २८ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरामा अवस्थित पोखरा हिमालयन मीट्स प्रा. लि. (पीएच मीट्स) को अवलोकन गरेका छन् ।

उनले आधुनिक प्रविधि प्रयोगमा ल्याएर उपभोक्ताहरूलाई स्वस्थ र स्वच्छ मासु प्रदान गर्न सकेको भन्दै कम्पनीको प्रशंसा गरे ।

उनले यस्ता क्षेत्रमा प्रविधिलाई क्रमशः आत्मसाथ गर्दै जाने हो भने रोजगारीका अनेकौँ सम्भावना स्वदेशमा नै रहेको बताए ।

सरकारी पक्षबाट कृषि, पशुपक्षी लगायतसँग सम्बन्धित व्यवसायलाई प्रोत्साहन गर्दै लैजानु आजको आवश्यकता रहेको गुरुङले औल्याएका छन्।

पोखरा हिमालयन मीट्स प्रा. लि.मा उत्पादित उत्पादनहरुको परिकारको स्वाद लिदैँ अर्थमन्त्री गुरुङले यस कम्पनीलाई अझ सशक्त ढंगबाट विस्तार गर्दै लैजान सुझाव दिए कम्पनीका सिईओ अभिनाष खत्रीले बताए ।

खत्रीले कच्चा माल (लाइभ चिकन) र अन्तिम मासुका उत्पादनहरू नेपाल सरकारको मासु निरीक्षकद्वारा निरीक्षण र प्रमाणित हुने हुदाँ पोखरा हिमालयन मीटमा ग्राहक सेवा, गुणस्तर आश्वासन र उच्च गुणस्तरीय ताजा उत्पादकको उत्पादनप्रति दृढ प्रतिबद्धता साथ कार्य गरिरहेको बताए ।

जुलाई २०१२ मा स्थापना भई नेपाल भर ताजा र प्रशोधन गरिएको मासु प्रदान गर्ने उद्देश्यले संचालन गरिएको यस कम्पनीले खुद्रा र खाद्य सेवा बजारहरूमा विभिन्न प्रकारका मासु र तयारी खाद्य उत्पादनहरू उत्पादन गर्दै आएको छ ।