मंसिर २९, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भन्दै विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार विशेषका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो । उनी आइतबार अदालतमा उपस्थित भएपछि थुनामा पठाउने आदेश भएको विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।
उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिव छँदा मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको भन्दै मुद्दा दायर भएको हो । उनीमाथि अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।
उपरजिष्ट्रार पाण्डेयका अनुसार मुद्दामा प्रतिवादी बनाइका १ सय ७५ जनामध्ये ९७ जना अदालतमा उपस्थित भइसकेका छन् । उपस्थित हुनेमा प्रायः कर्मचारी छन् ।
त्यसबेलाका भूमिसुधारमन्त्री डम्बर श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छाडिएको छ । प्रायः धरौटीमा छाड्ने गरेको भए पनि बस्न्यातलाई भने थुनामा पठाउने आदेश भएको हो ।
यसै प्रकरणमा सबैभन्दा पहिले चैत ३ मा तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल उपस्थित भएका थिए । उनलाई थुनामा पठाउने आदेश भए पनि सर्वोच्चबाट उनलाई धरौटी लिएर छाड्न आदेश भएको थियो ।
तत्कालीन भूमी सुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशी, त्यसबेलाका उपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायतका आरोपित भने हालसम्म उपस्थित भएका छैनन् ।







