भोलिबाट यातायात व्यवसायीले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने

पुष २, काठमाडौं ।
यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।

उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम रहेको उनीहरुको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका हुन् ।

जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना संक्रमणको जोखिम झन् बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायी बताउँछन् ।